Home समाचार यस कारण विषादी परीक्षणमा शंका उत्पन्न भयो !!

यस कारण विषादी परीक्षणमा शंका उत्पन्न भयो !!

149
0

काठमाडौँ— कैलालीको अत्तरियास्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा परीक्षणपछि शुक्रबार सांँझ कञ्चनपुर भन्सार कार्यालयले १० ट्रक फलफूल र तरकारी छाड्यो । भन्सार कार्यालयबाट महेन्द्रनगर बजार नपुग्दै ६ ट्रक विद्यार्थी नेताहरूले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा बुझाए ।

अत्तरियामा स्तरीय उपकरणविनै गरिएको परीक्षण भरपर्दो नहुने उनीहरूले बताए । उनीहरूले अत्तरियामा गरिएको परीक्षण विश्वसनीय नभएको भन्दै कालीमाटीमा पुनः परीक्षण गरिनुपर्ने माग गरेका हुन् । ‘अत्तरियाको प्रयोगशाला भरपर्दो छैन, व्यवसायीहरूको मिलोमतोमा विषादी कम बढी देखाउने गरिन्छ,’ नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य कैलाश चन्दले भने, ‘भारतबाट आयात हुने आँप, केरा, स्याउलगायत फलफूल सीधा आँखाले हेर्दा पनि खान योग्य देखिँदैनन् ।’त्यहाँ परीक्षण गरिएकै तरकारी र फलफूलको नमुना पुनः काठमाडौंको कालीमाटीस्थित प्रयोगशालामा परीक्षण गराएपछि मात्रै विश्वस्त हुन सकिने विद्यार्थीहरू बताउँछन् ।

विद्यार्थीहरूको शंकापछि कञ्चनपुर भन्सार कार्यालयले ६ वटै ट्रकबाट फलफुल र तरकारीको नमुना संकलन गरि पुनः परीक्षणका लागि कालीमाटी पठाएको छ ।उनले प्रयोगशालाका कर्मचारी र व्यवसायीको मिलोमतोमा खानयोग्य देखाइएको हुन सक्ने आशंका व्यक्त गरे ।

विद्यार्थीहरूकै निवेदनका आधारमा भन्सार कार्यालयले उनीहरूको रोहबरमा नमुना संकलन गरि पठाएको हो । आलु, प्याज, आँप, केरा र अनार सहितका वस्तु शिलबन्दी गरी परीक्षणका लागि पठाइएको कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भीमप्रसाद अधिकारीले बताए ।

बिहीबार सांँझ कञ्चनपुर भन्सार कार्यालयमा पुगेको १० ओटै ट्रकको फलफुल र तरकारीको शुक्रबार मात्रै विषादी परीक्षण भएको हो ।नमुना संकलनपछि सबै ट्रकहरू तेस्रो दिन शनिबार बिहान छाडिएको छ । सरकारले असार २ गते भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षणपछि मात्रै नेपाल भित्रिन दिने राजपत्रमा प्रकाशित गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here