Home समाचार कारागारले भेट्टाएन ८८ वर्षीय थारूलाई राखिदिने हेरचाह केन्द्र !!

कारागारले भेट्टाएन ८८ वर्षीय थारूलाई राखिदिने हेरचाह केन्द्र !!

45
0

उच्च अदालतका न्यायाधीशहरूले यसपालि निरीक्षणमा जाँदा एकजना कैदी वृद्धलाई कारागारबाट हेरचाह केन्द्र (वृद्धाश्रम) पठाउन निर्देशन दिए पनि कारागारले भने पठाउन सकेको छैन।

केन्द्रीय कारागारका जेलर वेदनिधि अधिकारीले हेरचाह केन्द्र पठाउन नसकिएको बताए। न्यायाधीश रामप्रसाद ओली र टेकनारायण कुवँरले जेठ १४ देखि १९ सम्मको निरीक्षणपछि सुन्धारास्थित केन्द्रीय कारागारको जगन्नाथ देवल जेलबाट बर्दियाका ८८ वर्षिय वेगाराम थारूलाई केयर सेन्टर पठाउन निर्देशन दिएका थिए।

जेष्ठ नागरिकसम्बन्धी ऐनमा ६६ वर्ष देखि ७० वर्षसम्मका कैदीलाई उनीहरूले पाएको सजायको २५ प्रतिशत छुट, ७० देखि ७५ वर्षलाई ५० र ७० देखि माथिकालाई ७५ प्रतिशत कैद मिनाहा गरिदिने व्यवस्था छ।‘न्यायाधीशज्यूहरूले गरेको निर्देशनबमोजिम हामीले हेरचाह केन्द्र पठाउन खोजेका थियौं तर हेरचाह केन्द्र नभेटिएकाले पठाउन सकेका छैनौं। निर्देशनबमोजिम हामीले अन्य कैदीलाई भने छोडेका छौं,’ उनले भने।

त्यही कानुनअनुसार निरीक्षणका क्रममा न्यायाधीशहरूले थारू २ वर्ष कैद बसिसकेकाले अब बस्नु नपर्ने भन्दै उनलाई हेरचाह केन्द्रमा पठाउन आदेश दिएका हुन्।

उनलाई २ वर्षअघि बर्दिया जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा ८ वर्षको कैद तोकेको थियो। कैद सजाय पाएकै बेला उनी ८६ वर्षका थिए। हुन त फैसलाको कार्यान्वयन पुर्जीमै जिल्ला अदालतले २५ प्रतिशत कैद भुक्तान गरेपछि उनलाई हेरचाह केन्द्रमा पठाउन भनिएको थियो।

न्यायाधीश सँगै गएका अदालतका उपसचिव ध्रुवकुमार सुवेदीका अनुसार यसपालिको निरीक्षणमा केन्द्रीय कारागारबाट थारूसहित ४ वृद्ध र कानुनविपरित जेलमा बसिरहेका अन्य ८ जनालाई न्यायाधीशले तत्काल थुनामुक्त गर्न आदेश दिएका छन्।

निरीक्षणमा आएका न्यायाधीशसमक्ष उनीहरूले जेष्ठ नागरिक ऐनले दिएको सुविधा माग गर्दै निवेदन दिएका थिए। थारूले जस्तै जेष्ठ नागरिक ऐनअनुसार सजाय छुट पाउनेहरू हुन् ७८ वर्षीय लोकबहादुर क्षेत्री, ७६ वर्षीय मटर शाही र ६६ वर्षिय हिमप्रसाद अम्गाई छन्। क्षेत्री र शाहीले ५०/५० प्रतिशत र अम्गाईले २५ प्रतिशत कैद मिनाहा पाएका हुन्।

वृद्ध र ती ८ जना सबैलाई थुनामुक्त गरिसकेको जेलर अधिकारीले जानकारी दिए। पाँच दिन लगातार न्यायाधीश ओली र कुँवरले कारागारका कैदी बन्दीका समस्या सुनेका थिए। त्यो क्रममा उनीहरूले फैसलामा तोकिएभन्दा बढी कैद सजाय बसेका ८ जना कैदी भएको थाहा पाए। उनीहरूलाई पनि कानुनी प्रकृया पुर्‍याएर छोड्न तत्काल निर्देशन दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here